भोलि देखि पूर्वप्रधानमन्त्रीदेखि सांसदहरुले राजधानी छाड्दै
मिडिया एनपी, काठमाडौं, २० मंसिर । संविधान जारी भएको साढे दुई महिनापछि सरकारले यसमा रहेका विशेषताबारे नागरिकलाई जानकारी गराउने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको संविधान जनताको संविधान, जनताको संविधान जनताको माझ’ भन्ने मुख्य नाराका साथ सोमबार संविधानका विशेषताबारे जनतालाई जानकारी दिने राष्ट्रिय अभियानको सुरुवात गर्न लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले जानकारी दिए । एक महिने उक्त अभियानमा पूर्वप्रधानमन्त्री देखि सांसदहरु जिल्लामा जाने थापाले जानकारी दिए ।
संविधानमा आफ्ना माग र अधिकार नसमेटिएको भन्दै तराई मधेशमा आन्दोलन जारी रहेका बेला सरकारले उक्त अभियान सुरु गर्न लागेको हो । संविधानप्रति भ्रम फैलाएकाले यसलाई चिर्न सरकारले उक्त अभियान सुरु गर्न लागेको हो ।
एक महिने अभियान ७५ जिल्ला, २ सय १७ नगरपालिका र ३ हजार १ सय ५७ वटै गाविसमा सञ्चालन हुनेछ ।

