मनीषा मृत्यु प्रकरणः त्यो रात के के भएको थियो-पोलिग्राफ टेष्टमा आशिषको वयानबारे प्रहरी यसो भन्छ...
१९ जेठ, परासी ।
नेपाली फुटवल टिमका चर्चित स्ट्राइकर विमल घर्तीकी दिवंगत बहिनी मनीषा घर्तीका प्रेमी रूद्रनारायण चौधरी अर्थात आशिषले कुनै झुटो कुरा नबोलेको पुष्टि भएसँगै मनीषाको मृत्युमा उनको हात नरहेको देखिएको जस्तो छ ।
विमल र उनकी बहिनीको यस्तो थियो अन्तिम फेसबुक भलाकुसारी
चौधरीको पोलिग्राफ परीक्षणपछि कुनै नयाँ कुरा नआएको भन्दै प्रहरीले उनले झुटो बोलेको पुष्टि नभएको बताएको छ ।
मंगलबार प्रहरीले टिचिङ अस्पतालबाट पाएको पोष्टमोर्टम रिपोर्टमा मनीषाको मृत्यु झुण्डिएका कारण भएको भनिएको छ । अव आशिषको पोलिग्राफ परीक्षणसँगै मनीषाको झुण्डिएर मृत्यु भएको पुष्टि भएको छ । मनीषालाई कसैले झुण्ड्याएको वा आफै झण्डिएको भन्ने अनुसन्धान जारी रहेपनि उनका प्रेमीले भने आफूले मनीषा झुण्डिएको अवस्थामा देखेको भनेर दिएको बयान सही सावित भएको छ । मंगलबार मात्र पश्चिमाञ्चल क्षेत्रिय प्रहरी कार्यालय पोखराको पोलिग्राफ परिक्षण विज्ञटोलीले घटनाको सत्य अनुसन्धान गर्नका लागि आशिषको पोलिग्राफ परीक्षण गरेको थियो । ५ घण्टा लगाएर आशिषसँग बयान लिइएको थियो । आशिषले दिएको बयानमा कुनै नयाँ कुरा नआएको र उनले झुटो कुरा नबोलेको प्रहरीले जनाएको छ ।
५ घण्टामा आशिषले के के भने
प्रहरीको प्रारम्भीक अनुसन्धानबाट गत १२ गते बुधबार साँझसम्म कल रेक्रडमा मनिषाले आशिषलाई १ सय १६ र आशिषले मनीषालाई १ सय २ पटक फोन गरेको देखिएको छ । गत १२ गते बुधबार आशिषले मनिषालाई पटक पटक फोन गर्दा फोन नलागेको र आशिषले मनिषाकी साथी शिलुलाई फोन गरि मनिषालाई भन्देउ आज जे पनि हुन सक्छ भनेर भनेको बयान आशिषले दिएका थिए ।
बुधबार साँझ मनिषाले आशिषलाई फोन गरि घर बोलाउँदा आशिषले रक्सी सेवनगरि पुगेपछि मनिषाले रक्सी खाएको भन्दै आशिषको गालामा एक झापड प्रहार गरेको पनि आशिषले पोलिग्राफ टेष्टका क्रममा स्वीकार गरेका छन् । मनीषाले हानेपछि आफूले पनि मनिषालाई पनि एक झापड हानेको उनले भनेका छन् । उक्त हात हालाहालपछि आफूहरुबीच विगतमा दिएको गिफ्ट तथा मोबाइलको सिमस समेत फर्काउने सम्मको विवाद परेको र कुटाकुट भएको उनले बताएका छन् । कुटपिट पछि आफू बाहिर बरामण्डामा आएर सुतेको र राती ११ बजे निन्द्रा खुलेपछि फेरि भित्र पस्दा मनिषालाई झुन्डिएको अवस्थामा देखेको उनले बताएका छन् ।
प्रहरीले भन्यो- मनीषाका प्रेमीले झुट बोलेनन्
आफूले घाँटीमा लागेको पासो फुकाएर मनिषालाई अर्को कोठामा सुताएको र घर फर्केको समेत आशिषले प्रहरीलाई बताएका छन् । मनीषाको घाँटीपासो भने उनले झिकेर नजिकैको कल्बर्टमा फालेको खुलिसकेको छ । पोलिग्राफमा आशिषले दिएको बयान यस अघि नै प्रहरीलाई दिएको बयानसँग करिव करिव मिल्दो जुल्दो छ । प्रहरीलाई दिएको बयान र उनको पोलिग्राफ परीक्षणमा बोलेका कुरामा कुनै विरोधाभाष नदेखिएपछि उनले झुट नबोलेको प्रहरीको निष्कर्ष छ ।
पोलीग्राफ परीक्षणः ५ घण्टामा ११ वटा प्रश्न
मनीषाका प्रेमी भनिएका आशिष सँग पोलिग्राफ परिक्षणमा ५ घन्टा लगाएर ११ वटा प्रश्नहरु सोधिएको थियो । यो ५ घण्टे अवधिमा आशिषले दिएको जवाफबाट मनिषा घर्तिमगरको हत्या आशिषले गरेको होईन भन्ने सावित भएको छ । पोलिग्राफ परिक्षणको समय व्यक्तिले झुठो बोल्न सक्दैन झुठो बोल्न खोज्यो भने उसको शरिरमा तरङ्ग आउँछ र उ अनियन्त्रित हुन्छ किनभने पोलिग्राफ गर्दा उसको शरिमा ६ प्रकारको सेन्सरहरु प्रयोग गरिएको क्षेत्रीय प्रहरी कार्यालय पोखराका पोलिग्राफ विज्ञ प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले जानकारी दिए । २०७० सालदेखि नेपालमा प्रयोगमा आएको नयाँ प्रविधि पोलिग्राफ परिक्षण ठुलाठुला चोरी, मानव बेचबिखन, ज्यानमार, जबरजस्तीकरणी र रहस्मय मृत्युका घटनाहरुको अनुसन्धानका लागि पोलिग्राफ परिक्षण गर्ने गरिएको प्रहरी नीरिक्षक पाण्डेले बताएका छन् ।
पोष्टमोर्टम रिपोर्ट
अघिल्लो साता नवलपरासी बर्दघाट ८ भुताहस्थित विमलको घरमा बुधबार राति मृत अवस्थामा फेला परेकी मनीषाको टिचिङ अस्पतालले एक साता पछि मंगलबार पोष्टमोर्टम रिपोर्ट प्रहरीलाई बुझाएको थियो । रिपोर्टमा मनीषाको मृत्यु झुण्डिएका कारण भएको भनिएको छ । यद्यपी यो मृत्युलाई आत्महत्या या हत्या भनेर अझै खुट्टाइएको छैन । प्रहरीले मनीषाको मृत्यु संकास्पद भन्दै नवलपरासीबाट काठमाडौं ल्याएर पोष्टमोर्टमका लागि टिचिङ अस्पताल पुर्याएको थियो । पोष्टमोर्टम रिपोर्टले मनीषाको मृत्यको कारण ‘ह्याङ्गिङ‘ अर्थात ‘झुण्डिनु’ भनेको छ । तर मनिषा आफै झुण्डिएकी हुन् वा अरु कसैले झुण्डाएको हो भन्नेकुरा पोष्टमोर्टम रिपोर्टबाट पत्ता लाग्दैन । प्रहरीले अव मनीषाको मृत्युलाई हत्या भन्ने आधार नभेटिएको बताएको छ ।
१५ वर्षमा विमलको जीवनमा परेका २ बज्रपात
अनुसन्धान जारी…
मनीषाको रहस्यमय मृत्युको विषयमा सत्यतथ्य अनुसन्धानका लागि रगत स्याम्पलको रिपोर्ट र भिसेराको रिपोर्ट अझै आउन बाँकि रहेको नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद चौधरीले बताएका छन् । घटनाको पोष्टमार्ट रिपोर्ट र पोलिग्राफ रिपोर्टले हत्या तथा आत्महत्याको पुष्टि हुन नसकेको कारण प्रहरीले अझै थप अनुसन्धान गर्ने बताएको छ ।

