माओबादीलाई अर्को संकट : पूर्वराज्यमन्त्रीसहित ४० नेता कार्यकर्ताविरुद्ध ज्यान मुद्दा दर्ता



दोलखा,२१ जेठ । चुनावको पूर्वसंध्यामा दोलखाको गौरीशंकर गाउँपालिकास्थित जुँगुमा भएको कुलबहादुर तामाङको हत्या प्रकरणमा पूर्वराज्यमन्त्री देवी खड्कासहित ४० जना माओवादी नेता कार्यकर्ताविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
प्रहरीको अनुसन्धानपछि सरकारी वकिलले आइतबार जिल्ला अदालत चरिकोटमा मुद्दा दर्ता गरेको हो । ज्यान मुद्दामा देवी खड्कासहित माओवादी पोलिटव्यूरो सदस्य गंगा कार्की, जिल्ला अध्यक्ष बिशाल खड्का लगायतलाई प्रतिवादी बनाइएको छ । पीडित परिवारको जाहेरीका आधारमा प्रतिवादी बनाइएको सरकारी वकिलको कार्यालयले जनाएको छ । गौरीशंकर गाउँपालिका वडा नमबर १ का एमाले उम्मेदवार गोरे तामाङका छोरा कुलवहादुरको वैँशाख २७ गते जुँगुको रेशमडाँडामा हत्या भएको थियो । एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडपपछि सो हत्याकाण्ड भएको थियो । हत्यापछि कुलवहादुरका परिवारले ४१ जना विरुद्ध किटानी जाहेरी दिएका थिए । ती मध्ये ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस