आफैंले स्थापना गरेको पार्टी परित्याग गरी बाटो लागे बाबुराम

१० असोज, काठमाडौं ।


एमाओवादी नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफैंले स्थापना गरेको पार्टी परित्याग गरी आफैंले एक साताअघि मात्र अनुमोदन गरेको संविधानबिरुद्ध मोर्चामा सामेल भएका छन्।

शनिबार पत्रकार सम्मेलनमार्फत पार्टीको साधारण सदस्य र सबै जिम्मेवारीसहित संसद सदस्यताबाट पनि राजीनामा गर्ने घोषणा उनले गरेका हुन् । यो कदमपछि एमाओवादी अध्यक्षसँगको २६ वर्ष लामो उनको सम्बन्ध विच्छेद भएको छ। दस वर्ष लामो सशस्त्र विद्रोहको उत्कर्षमा बाबुराम ‘जनसरकार प्रमुख’ थिए भने दाहाल पार्टीका नेता (पहिले महासचिव, पछि अध्यक्ष) सँगै जनसेनाका सर्वोच्च कमाण्डर थिए।
tगोरखा १ बाट संसद्मा प्रतिनिधित्व गरेका भट्टराईले सभामुख सुवास नेम्बाङसमक्ष सांसद पदबाट पनि राजीनामा दिएका थिए। अध्यक्ष दाहालले भट्टराई पुनः पार्टीमा फर्कनेमा आफू आशावादी रहेको प्रतिक्रिया दिएका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

भट्टराईले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘पार्टीहरू भनेका साधन हुन् । ती साध्य होइनन्, साध्य भनेको जनताको समृद्धि हो। एउटा युगका निम्ति बनेको पार्टी अर्को युगका निम्ति काम नलाग्न सक्छ। पुरानो एकात्मक सामन्ती राजतन्त्रात्मक राज्यव्यवस्था अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्था ल्याउन अर्थात् पुँजीवादी क्रान्ति सम्पन्‍न गर्नका निम्ति हामीले एकीकृत माओवादी पार्टी बनायौं। अब नयाँ ढंगको संगठन, नेतृत्व, कार्यदिशा, शैली र विचार भएको पार्टी निर्माण गरेर जानुपर्छ।’

प्रतिक्रिया दिनुहोस