बहिनीलाई उपहार बोकेर अमेरिका फर्किदै राजबल्लभ
एक साताअघि काठमाडौं आएका अभिनेता राजबल्लभ कोइराला आइतवार अमेरिका फर्किने भएका छन् । आफैंले अभिनय गरेको हलिउड फिल्म ‘हाईवे टु धुम्पुस’ रिलिजका लागि नेपाल आएका उनले बहिनीको बिहे परेकाले चाँडै फर्किनु परेको बताए ।
‘बहिनीको बिहे नपरेको भए अलि दिन नेपाल बस्ने थिएँ । एक्लो दाई भएपछि घर-ब्यबहार पनि हेर्नुपरिगो,’ अनलाइनखबरसँग कुरा गर्दै राजबल्लभले भने ।
राजबल्लभको स-परिवार बसाई अहिले अमेरिकामै छ । अमेरिकामै नेपाली परम्पराअनुसारमा बहिनीको बिहे गर्ने तयारीमा छन् उनी । संविधान जारी हुनभन्दा केही घण्टा अगाडी काठमाडौ आइपुगेका थिए उनी । दुईवर्ष पछि काठमाडौ आएका राजबल्लभलाई एअरपोर्टवाट झर्ने बित्तिकै कस्तो लाग्यो होला ? आफ्नो चीजको महत्व कहिल्यै नहराउने धारणा राख्दै उनी भन्छन्, ‘आफ्नो ठाउँको माया कति हुन्छ शब्दमै ब्यक्त गर्न गार्हो हुन्छ । यो त अनुभुति गर्ने कुरा हो ।’
यसपाली उनलाई काठमाडौं असाध्यै अमुल्य र आत्मीय लागेछ । काठमाडांैको यति माया लाग्नुको पहिलो कारण हो दुई वर्षपछिको आगमन । दोस्रो कारण हो जनताको संविधान जारी हुने दिन ।
संविधान जारीपछि हुनसक्ने सम्भावित भयको कारण देखाएर केही एअरलाइन्सले उडानै कटौती गरेका थिए । काठमाडौ झरेको दिन उपत्यकामै बसेका राजबल्लभ भोलिपल्ट मात्रै पोखरा पुगे । वल्लोघर, पल्लोघर, काका-काकी लगायत अरु आफन्तसँग भेटघाट गरे ।
काठमाडौ भन्दा अलि फरक लाग्छ उनलाई पोखराको ब्यबहार । काठमाडौं भन्दा रसिलो हँसिलो छ उनका लागि पोखरा ।
बहिनीले उनलाई पहिल्यै भनेकी थिईन्, ‘मलाई गाउँबाटै उपहार ल्याइदिनुपर्छ त्यो पनि पोखराकै ।’ राजबल्लभले उपहार पनि किनिसकेका छन् बहिनीका लागि ।
highway-to-dhampus
दुई दिन फिल्मको प्रचार
‘हाईव टु धुम्पुस’को बिहीवार काठमाडौमा आयोजना गरिएको प्रेश शोमा उपस्थित भएका राजबल्लभ शुक्रवार र शनिवार फिल्मकै प्रचारमा खटिने भएका छन् । यो फिल्म चल्नुपर्ने कारण उल्लेख गर्दै राजबल्लभ भन्छन्, ‘यो फिल्म चल्यो भने अरु धेरै हलिउड निर्देशक नेपालप्रति आकषिर्त हुनेछन् ।’ साथै नेपाली फिल्मलाई विदेशी बजारमा लैजानका लागि पनि नयाँ बाटो बन्ने सम्भावना देखेका छन् उनले ।
फिल्मका निर्देशक रिक म्याकफल्याण्डलाई नेपालीप्रति धेरै चासो राख्ने ब्यक्ति हुन् । यही फिल्म निर्माण गर्ने संस्थाले यसअघि कतिपय मुलकमा फिल्म प्रदर्शन गर्दा उठेको पैसा नेपालका भूकम्प पीडितलाई दिइसकेको छ । यसपाली पनि चालीस प्रतिशत रकम भुकम्प पीडितलाई नै दिने योजनामा निर्माण पक्ष रहेको छ ।