कैलाली नाकाबाट खाद्यान्न र तरकारीका ट्यांकरहरु भने छोडिदै , शनिबारसम्म ४४ ट्यांकर पेट्रोलिय पदार्थ बोकेको ट्यांकर नेपाल प्रवेश

देशका विभिन्न भागहरुमा भैरहेका आन्दोलनले असुरक्षा बढेको कारण देखाउँदै भारत सरकारले निर्यात गर्दै आएको पेट्रोलियम पदार्थको ढुवानी रोकेपछि त्यसको अभाव कैलालीमा पनि देखिएको छ । कैलाली नाकाबाट तरकारी र फलफुल बोकेका ट्यांकरहरु भने भारतीय पक्षले मनग्ये छोड्ने गरेको छ । गएको शुक्रबार र शनिवार ४४ वटा पेट्रोलियम पदार्थ बोकेको ट्यांकर कैलाली नाका हुँदै नेपाल भित्रिएका थिए । तर त्यसपछि भारतको वन्थरा डिपोबाट आफुहरुले नभनेसम्म खाली ट्यांक्करहरु नपाठाउन टेलिफोन जानकारी आएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय कैलालीका प्रमुख सरद पौडेलले जानकारी दिनुभयो ।


अहिले आयल निगमसम्म थोरै मात्रामा मात्रै स्टक रहेको र यसले २÷४ दिन मात्रै धान्न सकिने पनि क्षेत्रीय प्रमुख पौडेलले बताउनु भयो । भारतमा दुई दिन विदा परेकोले सोमबार बन्थराबाट जानकारी आएपछि तेल पाउने नपाउने थाहा हुने पनि उहाँको भनाई छ । नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले अहिले आफुसंग रहेको स्टकबाट थोरै मात्रामा तेल वितरण गर्दै आइरहेको कार्यालयले जानकारी दिएकोछ । यसैबीच कैलाली भन्सारनाकाबाट भने निर्वाधरुपमा खाद्यान्न र तरकारी बोकेका गाडीहरु भारतबाट नेपाल भित्रीरहेका छन् । असोज ३ गतेपछि आपुर्तिका केही कमि देखिएपनि उपभोग्य खाद्यान्न र तरकारीका गाडीहरु प्रयाप्त मात्रामा नेपाल भित्रीएको कैलाली भन्सार कार्यालयका प्रमुख मान प्रसाद वि.क.ले बताउनु भयो ।
भारतीय भन्सारले प्रकृयागत समस्या देखाउँदै केहि दिन गाडी होल्ड गर्ने गरेको बताउँदै भन्सार प्रमुख विकले यसले गर्दा गाडीभाडा दैनिक ५ देखि ६ हजार बढी तिर्नु पर्ने हुँदा व्यापारीले मुल्य बृद्धि गरेर सामानहरु बेच्न सक्ने उल्लेख गर्नुभयो ।
कैलाली भन्सार कार्यालयले दिएको जानकारी अनुसार गएको साउन १ गते देखि असोज ९ गतेसम्म १८ करोड ८० लाख ६ हजार ६ सय ८१ रुपैया राजश्ज संकलन गरेको छ । अधिल्लो वर्ष यहि अवधिमा भन्सार कार्यालय कैलालीले २३ करोड ३ लाख २० हजार रुपैया राजश्व संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस