भारतीय नाकाबन्दीको डटेर सामना गर्ने एमाओवादी निर्णय
१० असोज, काठमाडौं ।
एकीकृत माओवादीले भारतले लगाएको अघोषित नाकाबन्दीको डटेर समाना गर्ने निर्णय गरेको छ । भारतीय नाकाबन्दीको सामाना गर्दै चीनबाट सहयोग लिन तत्काल पहल चाल्ने निर्णय पनि माओवादीले गरेको छ ।
भावुक हुँदै प्रचण्डले भने बाबुराम जीको पत्र खोलेर हेर्दा आश्चर्यमा परें
पार्टी मुख्यालयमा बसेको केन्द्रिय समितिको बैठकले पार्टी छोडेको घोषणा गरेका नेता डा बाबुराम भट्टराईलाई पार्टीका फर्किन आह्वान गर्दै फर्काउन सबै प्रयत्न गर्ने निर्णय पनि गरेको छ ।
एमाओवादीका ४ निर्णय
आन्दोलनरत पक्षसँग अविलम्ब वार्ताका लागि दवाव सरकारलाई दिने,
बाबुरामलाई पार्टीमा फर्किन आग्रह गर्ने,
भारतीय नाकाबन्दीको विरुद्ध डटेर सामना गर्ने,
चिनबाट सहयोग लिन उच्चतम प्रयास गर्ने ।
बैठकमा बोल्दै प्रचण्डले बाबुरामको राजिनामा पत्र पाएर आफू अचम्मित भएको बताए ।
उनले भने, ‘ यो संविधान जारी गर्नु एतिहासिक उपलब्धि हो । बाबुरामले पार्टी छोड्नु असाधारण निर्णय हो । मैले विहान टेलिफोन गरें । मैले पूनर्विचार गर्न आग्रह गरेको छु । बाबुराम जी र मबीच कुनै त्यस्तो केही थिएन । उहाँकै आग्रहमा पार्टी बैठक बोलाएको हो । ८ गते गम्भिर छलफल भएको थियो । उहाँको हिँजोको पत्र अकस्मात आयो । पत्र खोले हेर्दा आश्चर्यमा परें । झट्का लागेको जस्तो भो । तर यसो परिस्थिति विचार गर्दा बाबुराम जीको पूर्व तयारी हो जस्तो अनुभव मैले गरेको छु । बाबुरामले बैद्यलाई समेत ल्याउन पहल गर्दै हुनुहुन्थ्यो । कसरी यस्तो भो । म आश्चर्यमा परेको छ । म बाबुरामलाई कुनै आरोप प्रत्यारोप गर्दिन । सबै मिलेर ल्याउने प्रयत्न गरौं । एउटा ब्यक्तिले पार्टी बनाउन सक्दैन । ‘
यस अघि पार्टी अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा बसेको स्थायी कमिटी बैठकले बाबुरामको निर्णय गलत, र पार्टी तथा जनतामाथिको बेइमानी भएको निष्कर्ष समेत बैठकले निकालेको थियो ।
मधेश आन्दोलन पारीबाट
जारी मधेश आन्दोलन नेपालबाट भन्दा पनि भारततिरबाट सञ्चालन भैरहेको खतरनाक संकेत देखिएको भन्दै प्रचण्डले गम्भिर चिन्ता ब्यक्त गरेका छन् । उनले सीमापारीबाटै खाजा सामान बोकेर आउने सीमा क्षेत्रमा आएर तनाव मच्चाउने काम भएको भन्दै यस्तो तरिकाले नेपालको राजनीति गर्ने काम भैरहनु गम्भिर भएको बताए ।

