विरगञ्जको दसगजा क्षेत्रमा आन्दोलनकारी र प्रहरीबीच झडप, स्थिती तनावग्रस्त

काठमाडौँ, ७ असोज - विरगञ्जको दसगजा क्षेत्रमा मधेशी आन्दोलनकारीलाई र प्रहरीबीच झडप भएको छ।

टेन्ट गाडेर आन्दोलन गरिरहेका आन्दोलनकारीलाई प्रहरीले हटाउन खोज्दा झडप भएको हो। झडपका कारण अहिले त्यहाँको स्थिती तनावग्रस्त बनेको छ।


आन्दोलनरत मधेसी दलहरुले बिहीबार बिहानदेखि वीरगन्ज-रक्सौल नाका ठप्प पारेका छन्। वीरगन्ज-रक्सौल नाकामा रहेको मितेरी पुलस्थित दशगजाक्षेत्रमा बिहीबार  बिहान १० बजेदेखि धर्ना दिएर मधेसी दलका नेता कार्यकर्ताले नाका ठप्प पारेका हुन्। मितेरी पुलस्थित दशगजाक्षेत्रमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय समावेशी मधेसी मोर्चाका नेता कार्यकर्ता छुट्टाछुट्टै धर्नामा बसेका छन्।

बिहान १० बजे देखि शुरु भएको धर्ना र नाका ठप्प पार्ने कार्यक्रम  मधेशका माग पुरा नभएसम्म जारी रहने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष प्रदीप यादवले बताए। मधेशी दलले दशगजा क्षेत्रमा धर्ना दिएर नाका ठप्प पारेकाले वीरगन्ज र रक्सौल दुवैतर्फको सवारी आवागमन ठप्प छ। साइकल र पैदल यात्रीहरुले ओहोर दाहोर गरेपनि अन्य सवारीका साधन चलेका छैनन्।

प्रतिक्रिया दिनुहोस