प्रधानमन्त्रीको राजीनामा मागेपछि मन्त्रिपरिषद्मामा झण्डै हानाहान
काठमाण्डु, १६ असोज– संसदको पहिलो बैठकमा सम्बोधन गर्नुअघि बोलाइएको मन्त्रिपरिषद्को आकस्मिक बैठकमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री सुशील कोइरालाको राजीनामा मागेका थिए । बैठकमा प्रधानमन्त्री कोइरालाले संविधान संशोधन प्रस्ताव गरेपनि राजीनामा दिने विषय नउठाएपछि उपप्रधानमन्त्री गौतमले नयाँ सरकार बन्ने बाटो प्रधानमन्त्रीले राजीनामा नगरी कसरी खुल्छ भन्ने प्रश्न गरेका थिए ।
उद्योगमन्त्री महेश बस्नेतले प्रधानमन्त्रीले आजै बस्ने व्यवस्थापिका–संसदमा गर्ने सम्बोधनमार्फत राजीनामा दिने प्रस्ताव मन्त्रिपरिषदले पारित नगरेमा बैठक बहिस्कार गर्ने चेतावनी दिए तर बहिस्कार भने गरेनन् । वनमन्त्री महेश आचार्यले तत्काल आपत्ति जनाउँदै प्रधानमन्त्रीले मन्त्रीलाई सोधेर राजीनामा नदिने र यो प्रधानमन्त्रीको निजी विचार भएको बताएका थिए । मन्त्रीहरुबीच आपसी विवाद बढ्न थालेपछि प्रधानमन्त्री कोइरालाले आफूले राजीनामा दिन्छु भनिसकेको स्मरण गराए । एमाले मन्त्रीहरुलाई जवाफ दिँदै उनले ‘तर समय आएपछि मात्र राजीनामा दिने’ बताएका थिए । स्रोत काठमांडू टुडे .कम