मधेशी मोर्चाले कांग्रेसलाई भन्यो – अव साथ दिँदैनौं

मधेशी मोर्चाका नेताहरुले कांग्रेसलाई राष्ट्रपतीय चुनावमा नसघाउने संकेत दिएका छन् । राष्ट्रपतीय उम्मेदवार मधेशी बनाउने भन्दै कांग्रेस नेताहरुले राष्ट्रपतीय चुनावमा सहयोग गर्न आग्रह गरेपछि मधेशी नेताहरुले अव आफूहरु पछि नलाग्ने जवाफ दिएका हुन् ।


प्रधानमन्त्रीय चुनावमा सहभागी भएर धोका पाएको भन्दै मधेशी नेताहरुले अवको चुनावमा आफूहरु कुनै गठबन्धन तिर नलाग्ने बरु आफै अघि बढ्ने जवाफ दिएका छन्। प्रधानमन्त्रीमा पराजित भएका सुशील कोइरालाले आफू मधेशी दलबाट राष्ट्रपति बन्नु पर्ने पक्षमा रहेको भन्दै सघाउन आग्रह गरेका थिए ।

महन्त ठाकुरलाई नै उम्मेदवार बनाउने संकेत गर्दा समेत मधेशी दलहरुले प्रस्तावप्रति सकारात्मक जवाफ नदिएपछि कांग्रेस नेताहरु निराश बन्न पुगेका छन् । प्रधानमन्त्री चुनावमा सहभागी भएपछि मधेशी दलहरुमा तनाव पैदा भएको छ ।

भारतको दवावमा चुनावमा सहभागी भएका भनिएका मधेशी दलमा आफूले सहयोग गरेका उम्मेदवार प्रधानमन्त्री नभएपछि आन्दोलनमा मधेशी दलहरुका नेता तथा कार्यकर्तामा समेत वितृष्णा पैदा भएको बताइन्छ ।

मधेशी दलहरुले दशैं तिहारमा समेत आन्दोलन स्थगित नगर्ने निर्णय गरेपछि मधेशमा आन्दोलनप्रति झनै वितृष्णा पैदा भएको छ ।

प्रतिक्रिया दिनुहोस