सुनौली नाका खुल्यो, पैतिस गाडी भित्रिए

काठमाडौं : भैरहवास्थित सुनौली नाका मंगलबार केही सहज भएको छ।

दुवैतर्फका व्यापारिक संस्था तथा नागरिक समाजको सक्रियतामा नाकालाई सहज गर्ने सहमति भएपछि नाकामा अड्किएका गाडीहरु धमाधम नेपालतिर प्रवेश गरिरहेका छन् ।




नेपाल भारत मैत्री समाज, सिद्धार्थनगर उद्योग बाणिज्य संघ, सुनौली व्यापार मण्डलगायतका संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको पहलमा नाका सहज गर्ने सहमति भएको हो ।

साढे दुई बजेसम्म पैतिसवटा मालबाहक गाडी नाकाबाट छिरेका छन् । त्यसमध्ये केही ग्यासका बुलेट र तेलका ट्यांकर छन् । नेपाल छिर्ने लाइनमा पेट्रोलका चालिस ट्यांकर र ३५ बुलेट छन्।

नेपाल भारत मैत्री समाजका डा. शान्तकुमार शर्माले दशैंतिहारजस्ता चाड पर्व नजिकै आएकोले धर्ना दिएर नाकामा अवरोध नगर्न आन्दोलनकारीलाई आग्रह गरिएको र मंगलबारदेखि आपूर्ति सहज भएको बताए ।

प्रतिक्रिया दिनुहोस