नाकाबन्दी खुलाउन भारतसँग कुरा गर्ने जिम्मा कमल थापालाई

काठमाडौं : भारतले लगाएको नाकाबन्दी हटाएर आपूर्ति व्यवस्था सहज पार्नका लागि भारतसँग वार्ता गर्न उपप्रधानमन्त्री तथा

परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा वार्ता गर्न समिति बनाएको छ। नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ तथा पदवहालीपछि बसेको मन्त्रिपरिषद्‍को पहिलो बैठकले वार्ता गरेर समाधान खोज्ने जिम्मा थापालाई दिएको हो। थापाले पदवहालीका क्रममा सम्बोधन गर्दै नाकामा देखिएको समस्या तथा अवरोधलाई हटाउन तत्काल पहल थालिने बताएका थिए। संविधान जारी भएपछि भारतले अघोषित रुपमा लगाएको नाकाबन्दीका कारण तीन हप्तादेखि आपूर्ति व्यवस्था अस्तव्यस्त भएको छ ।आइतबारदेखि केही खुकुलो भए पनि अझै आपूर्ति व्यवस्था सुचारु भएको छैन। दसैंतिहार र छटजस्ता महत्वपूर्ण पर्वको मुखमा भएको नाकाबन्दीले इन्धन तथा खाद्यन्नलगायतका वस्तुको हाहाकार हुने अवस्था छ । आपूर्तिको यो असहज अवस्थालाई अन्त्य गर्नका लागि राजनीतिक र कुटनीतिक दुवै तहमा वार्ता गरेर समाधान खोज्न थापालाई जिम्मेवारी तोकिएको हो । थापाले सोमबारदेखि नै पहल थालेका छन् ।

प्रतिक्रिया दिनुहोस