विद्या र मदन भण्डारीको प्रेमकहानी
काठमाडौं, ११ कात्तिक । एमाले उपाध्यक्ष विद्या भण्डारी गणतान्त्रिक नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित भईन् । नेपालकै पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी विद्या एमालेका पूर्वमहासचिव स्वर्गिय मदन भण्डारीकी पत्नी हुन् । २०५० साल जेठ ३ गते जीप दुर्घटनामा परी मृत्यु भएका भण्डारी नेपाली जनतामा स्थापित जननेता हुन् ।
प्रखर वक्ता र नेकपा एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादका सिन्द्धान्तकार भण्डारीकी पत्नी सत्तारुढ गठनबन्धनको समर्थनमा गणतान्त्रिक नेपालको दोस्रो राष्ट्रपति र पहिलो महिला राष्ट्रपति बनेकी छिन् ।madan-bhandari-photo
राजनीति संभावनाहरुको खेल हो । कुनै बेला भोजपुरको सामान्य परिवारमा जन्मेकी विद्या मुलुकको प्रमुख हुन्छिन् भन्ने कुरा कसको मनमा थियो होला र ? तर विद्याले इतिहास रचेकी छिन् ।
एमालेभित्र देखिएका अन्य प्रतिस्पर्धिलाई पछिपार्दै विद्यालाई एमाले स्थायी समितिको बैठकले राष्ट्रपतिको उम्मेदवार बनाएको थियो । खासगरि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीको एकल प्रस्तावमा उनी उम्मेद्वार बनेकी थिइन् ।
त्यसो त एमाले भित्र वरियताको आधारमा भण्डारी भन्दा वरिष्ठ नेताहरु नभएका होइनन् । चौथो वरियतामा रहेकी विद्या भन्दा पूर्वप्रधानमन्त्रीसमेत रहेका झलनाथ खनालको नाम पनि राष्ट्रपतिमा चर्चा थियो ।
त्यस्तै पूर्वसमामुख सुवासचन्द्र नेम्वाङ तथा पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित एमालेमा राष्ट्रपतिको उम्मेदवारको लागि छलफलमा थिए । तर, अध्यक्ष ओलीले विद्याको नाम लिएपछि अरु नेताहरु अन्तिम बैठकमा मौन बसे र उनी राष्ट्रपति बन्ने आधार तय भयो ।
Bidhya-Vandari
नेपालको महिला राजनीतिक नेतृत्वमध्ये विद्या शीर्ष नेतृत्वमा छिन् । एमालेभित्र चौंथो वरियतामा रहेकी उनी मुलुकै सर्वोच्च निकायमा निर्वाचिन भएकी पहिलो महिला हुन् । भण्डारी तत्कालीन एमाले वरिष्ठ नेता माधव नेपाल नेतृत्वको सरकारमा रक्षामन्त्री समेत बनेकी थिइन् । राजनीतिबारे यस्तो पनि भनिन्छ कि, राजनीतिमा स्थायी दुश्मन हुँदैन । कुनैसमय माओवादी र प्रचण्डको कट्टर विरोधी बनेकी उनले एक कार्यक्रममा प्रचण्डलाई बोलीको ठेगान नभएको नेता भनेकी थिइन् । तिनै बोलीको ठेगान नभएको नेता प्रचण्डको प्रस्तावमा भण्डारी यतिबेला राष्ट्रपतिको सर्वोच्च आसनमा पुगेकी छिन् ।
यस्तो थियो विगत
बाबु रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी जेठी छोरी हुन् विद्या । जन्म ५ असार ०१८ मा भाजपुरको मानेभञ्ज्याङ गाविस २ स्थित अम्बोटे भन्ने स्थानमा भएको थियो । बाल्यकालमै उनको बाबु रामबहादुर पाण्डेको निधन भयो । गाउँकै विद्योदय हाईस्कुलबाट विद्याले एसएलसी गरेकी थिइन् । झापा आन्दोलनमा उनका काका खगेन्द्रको समलग्नता थियो । उनकै प्रभावमा परेर उनी वामपन्थी राजनीतिमा लागेकी थिइन् । ०३३ तिर पूर्वमा क्रियाशिल पूर्वको रातो झण्डा समूहसँग उनको सम्पर्क भएदेखि नै उनी कम्युनिस्ट बनिन् । क्याम्पस पढ्दै गर्दा मुलुुकमा नेकपा मालेको स्थापना भयो । त्यतिबेला बनेको मालेको पर्चा बाढ्ने काममा विद्या क्रियाशिल थिइन् ।
औपचारिक शिक्षा विद्याले त्यतिबेला गाउँमै ७ कक्षासम्म पढ्न पाइन् । उनका बाजे गाउँकै प्रधानपञ्च थिए । सोही कारण विद्याका बाल्यकाल राजनीतिमय थियो । तत्कालीन परिवेशमा उनको परिवार कांग्रेसको राजनीतिमा सक्रिय थियो । उनका काका खगेन्द्रलेमात्रै वामपन्थी राजनीति गरेका थिए । अन्य काकाहरु कांग्रेसकै राजनीतिमा सक्रिय थिए । जोगिन्द्र पाण्डे नाम गरेका उनका काका त कांग्रेस नेता कृष्णप्रसाद भट्टराईका पीए नै थिए ।
यसरी भएको दियो मदनसँग भेट
Madan Bhandari
२०३६ राजनीतिक यात्राकैक्रममा मदन भण्डारीसँग उनको पहिलो भेट भएको थियो । त्यतिबेला मदन भण्डारीले पार्टी भित्रको उपनाम ‘कमरेड सागर’ राखेका थिए । विद्यालाई सागर नै मदन हुन् भन्ने थाहा थिएन । सागरको नामले मदन भण्डारी भोजपुर पुगेका थिए । त्यतिबेलै उनीहरुबीच भेट भएको थियो । त्यतिबेलादेखि नै भेटघाट बाक्लियो । करिब २ पटकसम्म विद्यासँग भोजपुरमै मदनको भेट भयो । तेस्रो भेट विराटनगरमा भएको थियो ।
विद्या र मदनको प्रेम झाँगिनुमा केही वर्षअघि एमाले छोडेका संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईको भूमिका पनि महत्वपूर्ण छ । राईले एक सिटमा यात्रा गराउनेदेखि खाना खाने ठाउँ एकै बनाउने काम गर्थे । राईले मदनलाई विद्याका बारेमा कुरा लगाउने काम गर्थे । राईकै भूमिकाबाट उनीहरुको विवाह भएको थियो ।
नेपाली समाज पितृसत्तात्मक हो । त्यतिबेला महिला राजनीतिमा लाग्नुलाई राम्रो मानिदैन थियो । राजनीतिमा लागेको थाहा नहुँदासम्म छोरीलाई परिवारले राम्रै रुपमा हेर्थे तर उनी अनेरास्ववियुको पाँचौ राष्ट्रिय सम्मेलनमा सहभागी हुन काठमाडौंमा आएपछि घरका सबैले गाली गरे । काका खगेन्द्र त खोज्नका लागि भोजपुरबाट धरानसम्म आए ।
कलेजबाट प्रतिनिधित्व गरेर काठमाडौं आएकी उनलाई परिवारले विहे गर्न दबाब दियो । तर विद्याले मानिन् । पार्टीले समेत मदन भण्डारीसँग विवाह गर्न प्रस्ताव गरे, तर उनी तत्काल विहे नगर्ने सोचमा थिइन् । केहीसमय मदनसँग प्रेम चल्यो । दुई वर्षपछि पार्टीमा विहेको लागि निवेदन दिइन् । पार्टीले औपचारिक रुपमा सहमति दिएपछि ०६९ साउन २४ गते पार्टीकै लगानीमा उनको मदन भण्डारीसँग विवाह भयो । एकल निर्णयमा विवाह गरेकी विद्याको विवाहमा माइतीपक्षबाट कोहीपनि आएका थिएनन् ।
विवाहपछि विद्या पढ्नको लागि मोरङ क्याम्पसमा भर्ना भईन् । सोही वर्ष विद्या स्ववियुको कोषाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् । विवाहको केही समयपछि उनी काठ्माडौं आईन् । करिब ३ वर्षको काठमाडौं बसाईं स्थापित नहुँदै ०५० जेठमा चितवनको दासढुङ्गामा जीप दुर्घटनामा परी मदन भण्डारी र जीवराज आश्रितको निधन भयो ।
त्यसपछि विद्यालाई घरपरिवार चलाउन निकै कठिन भयो । २०५० जेठमा भएको जिप दुर्घटनामा, मदन भण्डारीको मृत्यु भएपछि काठमाडौंको क्षेत्र नम्बर १ मा सम्पन्न उपनिर्वाचनमा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि उनको चर्चा चुलिएको थियो ।
मदनभण्डारी बारे विद्याले तस्बिरमा मदन भण्डारी पुस्तकमा यसो भनेकी थिइन्
‘मदन भण्डारीसँग मेरो चिनजान हाम्रो विवाहभन्दा अघिदेखि नै भएको थियो। राजनीतिक पार्टी, विचार र सिद्धान्त एउटै भएको कारणले गर्दा यसरी भेटघाट हुनु स्वाभाविक थियो । मैले मदनलाई सबभन्दा पहिले २०३६ सालमा भोजपरमा पार्टी बैठकमा जाँदा देखेकी हुँ। त्यसपछि ०३७ साल फागुन २१ गते पार्टी स्थापना दिवसको अवसरमा र तेस्रो पटक ०३८ सालको फागुनतिरै भेटेकी हुँ। यी भेटघाट भनेको पार्टीगत कामले नै हुने गर्दथे । तर, हामी औपचारिक रुपमा पार्टी बैठकमा भोला हुने र संगठनका बारेमा छलफल गर्ने गथ्र्यौं। यही राजनीतिक र बैचारिक सम्बन्धले गर्दा पार्टीकै प्रस्तावमा हाम्रो सम्बन्ध ०३९ साल साउन २४ गते विवाहमा परिणत भयो हामी कम्युनिष्ट पार्टीका कार्यकर्ता र नेता भएका कारणले हाम्रो विवाह पार्टीगत ढंगले नै आयोजित भयो । मदन भण्डारीसँग तत्कालनी नेकपा ९माले० को नेता भएकोले उहाँको सम्पुर्ण समय पार्टीको काममा बित्थ्यो। उहाँले आफ्नो जीवनको सम्पुर्ण समय कम्युनिष्ट पार्टीको काममा लगाउन चाहनुहुन्थ्यो। पारिवारिक सम्बन्धले उहाँलाई कहिल्यै बाँध्न सकेन। साथीभाइहरुसँगपनि पार्टी बैठकहरुमा औपचारिक कुरा गर्ने, अरु बेलामा पार्टी काममा व्यस्त रहने र कम बोल्ने गर्नुहुन्थ्यो । मदन कुनै देश, ठाउँ वा व्यक्तिबाट प्रभावित नभइकन आफ्नै सोचका आधारमा परम्पदावादी वामआन्दोलनलाई परिस्थितिजन्य ढंगले अगाडि बढाउन चाहनुहुन्थ्यो। उहाँको भनाइ नै थियो पार्टी पार्टीको लागि होइन, जनताका लागि हुनुपर्छ र कम्युनिष्ट पार्टीको नाममा कुनै किसिमको निरंकुशतालाई लाद्न दिनु हुँदैन ।
उहाँको दैनिक जीवन साह्रै व्यस्त थियो । विहान ५ बजे उठ्ने र राति १ बजे सुत्ने गर्नुहुन्थ्यो। काम साँच्ने बानी थिएन। सम्पुर्ण समय अध्ययन, टिपोट लेखनमा नै बित्थ्यो। फुर्सदको समय कहिल्यै भएन। उहाँ लगाउने र खाने कुरामा सोखिन हुनुहुन्नथ्यो । भान्सामा जे उपलब्ध छ त्यही खानुहुन्थ्यो। ज्यादै मन पनेै खाने कुरामा हरियो सागपात र दही हो। तर यसको कहिल्यै माग गर्नु भएन। उहाँलाई मन पर्ने रङ कलेजी हो । प्रचलन अनुसारको सर्टपेन्ट लगाउनुहुन्थ्यो।’

