रसुवागढी नाका खुलेको २४ घण्टा नवित्दै पुनः बन्द

पहिरोले रसुवागढी–केरुङ सडक भासियो



नुवाकोट:  साढे पाँच महिनादेखि बन्द रहेको वहुचर्चित र वहुप्रतिक्षित रसुवागढी नाका विहीबारदेखि पुनः सञ्चालनमा ल्याइएको भएपनि पुनः बन्द भएको  छ ।


सो नाका पुनः सञ्चालन गरिएको २४ घण्टा पनि नवित्दै रसुवाढी–केरुङ सडकमार्गमा पहिरो खसेका कारण सडक भासिएको छ ।

रसुवाढी–केरुङ सडकमार्गको वीचमा रहेको केरुङतर्फको ढोङ्सा भन्ने स्थानमा पुनः पहिरो खसेर सडक बन्द भएको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वताए ।

उनका अनुसार चीनले पहिरो पन्छाएर सडक पुनः सुचारु गर्न चारदेखि एक साताको समय लाग्ने जनाएको उनले बताए ।

बडादशैंमा चीनको रसुवागढी नाकावाट दैनिक उपभोग्य सामग्रीका साथै इन्धन आउने पर्खाइमा रहेका आम नेपालीमा निरासा छाएको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजनलाल श्रेष्ठले बताए ।

 चीनले नेपालमा ठुलो पर्व बडादशैं रहेको र यस समयमा रसुवाढी–केरुङ सडकमार्गमा रहेका अवरोधहरु पन्छाउनका लागी एक साताको समय मागेको रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।

रसुवाको सदरमुकाम धुन्चेदेखि ३१ किलोमिटर उत्तरमा भोटेकोशी नदी किनारामा रहेको रसुवागढीमा विहीबार विहान मात्रै नेपाली समय अनुसार नौ वजे नेपाल र चीनका अधिकारीले सो नाका पुनः औपचारिक रुपमा सञ्चालन गरेकोमा सडकमार्गमा रहेका अवरोध पन्छाउन चीनले समय लाग्ने वताएकाले एक सताका लागि पुनः वन्द भएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत केदार पनेरुले वताए ।

गत वैशाख १२ गते भुकम्पदेखि वन्द नाका पाँच महिना १६ दिनमा पुनः सञ्चालनमा आएकोमा फेरी पहिरोका कारण वन्द भएको हो ।

प्रतिक्रिया दिनुहोस