मधेसी मोर्चाको कुटपिटबाट महिला र बालक बेहोस
फोटो :मोरङको विराटनगरस्थित सडकमा नाराबाजी गर्दै मोर्चाका कार्यकर्ता । तस्बिर : कुमार लुइँटेल
बिराटनगर : हिंसात्मक प्रदर्शन गर्दै सडकमा उत्रेका मधेसी मोर्चाका कार्यकर्ताको आक्रमणबाट विराटनगरमा एक बालक र महिला बेहोस भएका छन् ।
मोर्चाको नेतृत्वले काठमाडौंमा राजमार्ग र सीमानामा आन्दोलन सशक्त पार्ने घोषणा गरेलगत्तै मोर्चाका कार्यकर्ताहरु हिंस्रक बनेका हुन् ।
मोर्चाका कार्यकर्ताको निशानामा शुक्रबार विराटनगरमा बालक र महिला पनि परेका छन् ।
उग्र भएका मोर्चाका कार्यकर्ताले विराटनगर–७ शिवमन्दिरमा एक बालकमाथि रड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मोर्चाले रड प्रहार गरेर घाइते भएका बालकको पहिचान भइसकेको छैन । उनको अवस्थाबारे खुलिनसकेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रमोद खरेलले बताए ।
डीएसपी खरेलका अनुसार महावीर रोडमा मोटरसाइकल पछाडि बसेकी महिलालाई तानेर कुटपिट गरेका छन् ।
आक्रमणपछि बेहोस भएकी महिलालाई आफन्तले उपचारपछि घर लिएर गएकाले उनको पनि पहिचान नभएको उनले बताए ।
मोर्चाका नौ कार्यकर्ता पक्राउ
यसैबीच बालक र महिलामाथि आक्रमण गर्ने, सवारी साधन तोडफोड गर्ने र बजार पसल बन्द गराउदै हिंड्ने नौ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
एसपी लम्सालका अनुसार बालकमाथि रड प्रहार गर्ने मोरङको बैजनाथपुर–८ का ३० वर्षीय जितनारायण साहलाई विराटनगरको शिवमन्दिर चौकबाट पक्राउ गरिएको छ ।
मोटरसाइकल पछाडि बसेकी महिलालाई तानेर कुटपिट गरेको घटनामा संलग्न रुद्र बर्मालाई महावीर रोडबाट पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ ।