चीनले नेपालमा पेट्रोलियम स्टोरेजका लागि तीनवटा विशाल भण्डारणस्थल बनाइदिने
काठमाडौँ : सरकारले काभ्रेको पाँचखाल, नुवाकोटको त्रिशुली र तनहुँको खैरेनीमा इन्धन भण्डारणस्थल निर्माण गर्ने भएको छ ।
ती तीन स्थानमा छ/छ हजार किलोलिटर क्षमताका पेट्रोल भण्डारणस्थल निर्माण गर्न लागिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले बताए। इन्धनको भण्डारणस्थल निर्माणका लागि चीन सरकारसमक्ष प्रस्ताव गरिएको उनले जानकारी दिए।
चीन सरकारको सहयोगमा सोही स्थानमा एक /एक हजार किलोलिटर क्षमताको डिजल भण्डारणस्थल पनि निर्माण गरिने भएको छ । भण्डारणस्थल निर्माणका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुरोधमा अर्थ र परराष्ट्र मन्त्रालयले सो प्रस्तावलाई अगाडि बढाइसकेको छ ।
हाल मुलकुमा ७१ हजार ५६९ किलोलिटर पेट्रोल, डिजेल र हवाई इन्धन मात्र भण्डारण हुँदै आएको छ । मट्टीतेल र एलपिजी ग्यास भण्डारणको व्यवस्था भएको छैन । हाल कायम रहेको भण्डारण क्षमतामध्ये एक सातालाई पुग्ने पेट्रोलको भण्डारण क्षमता रहेको छ भने डिजेलको १५ दिन र हवाई इन्धनको भण्डारण क्षमता सात दिनलाई मात्र पुग्ने रहेको छ ।
भारतको अघोषित नाकाबन्दीका कारण मुलुकमा भण्डारण क्षमता नहुँदा उपभोक्ता नराम्ररी प्रभावित भएका छन् । उपभोक्ताले समस्या भोगेपछि भण्डारण क्षमता बढाउने विषयमा अर्थमन्त्री विष्णु पौडेल र वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनबीच पटक–पटक छलफल भएको थियो ।
भण्डारण क्षमता बढाउने विषयमा आवश्यक प्रक्रिया अगाडि बढाउन अर्थमन्त्रालयले बजेटको समेत जोहो गर्ने सहमति भएको थियो । हाल नेपाल आयल निगमको थानकोट, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा, पोखरा, नेपागन्ज, विराटनगरलगायतका स्थानमा भण्डारणस्थल रहेको छ ।
तराई–मधेसको आन्दोलन र भारतको अघोषित नाकाबन्दीपछि एकाध दिनलाई मात्र पुग्ने इन्धनको भण्डारण रहेको थियो । निगम नाफामा रहेको अवस्थामा समेत क्षमताअनुसार इन्धनको भण्डारण नगरिएको भन्दै चर्को आलोचना भएको थियो । पछिल्लो दिनमा स्वचालित मूल्य प्रणाली कायम गरेपछि निगमको नाफा बढेको अवस्थामा पनि भण्डारण गर्नेतर्फ ध्यान नदिएको र अत्यावश्यकीय वस्तुमा लापरवाही गरिएको भन्दै व्यवस्थापिका–संसद् मातहतका विभिन्न समितिले समेत आपत्ति जनाएका थिए ।
निगमका प्रवक्ता मुकुन्द घिमिरेले हालको अवस्थालाई हेर्दा भण्डारण क्षमता बढाउनै पर्ने आवश्यकता देखिएकाले भण्डारणस्थल बनाउन लागिएको बताए।“हालको भण्डारण क्षमता बढाएर कम्तीमा ९० दिनलाई पुग्ने भण्डारणस्थल निर्माण गर्न लागिएको हो”उनले भने। चीनबाट इन्धन आयात गर्ने सम्बन्धमा त्यहाँको सरकारी कम्पनी पेट्रो चाइना र निगमबीच प्रारम्भिक सम्झौता भइसकेको छ ।
यस्तै व्यापारिकरुपमा इन्धन आयात गर्ने सम्बन्धमा समेत प्रक्रिया अगाडि बढिरहेको छ । निगमको प्राविधिक टोलीले दिएको प्रतिवेदनका आधारमा इन्धन आयात गर्ने सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढिरहेको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । रासस

